काठमाडौँ :- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ।
स्विट्जरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्यसभाका क्रममा मंगलबार दुई मन्त्रीबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
भेटमा नेपाल र भूटानले समान प्रकारका स्वास्थ्य चुनौती सामना गरिरहेकाले त्यसको समाधानका लागि पारस्परिक सहकार्य आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका थिए।
यस्तै, लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणाली सुदृढ गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुई देशबीच स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउन सहकार्य गर्ने समझदारीसमेत भएको डा. अधिकारीले जानकारी दिए।
यसअघि मन्त्री मेहताले विश्व स्वास्थ्यसभाकै क्रममा भारत र चीनका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।




