काठमाडौँ :- रुपन्देहीको भैरहवामा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा दुई जना कक्षा ८ मा अध्ययनरत विद्यार्थी डुबेका हुन्।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरियाका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैनाका १६ वर्षीय सुरज गुप्ता रहेका छन्। दुवै जना हाल भैरहवामा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार उनीहरू साथी थिए। गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा अध्ययनरत थिए भने चौधरी लिलाराम माध्यमिक विद्यालयका विद्यार्थी थिए।
डुबेको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगे पनि दुवै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवा लगिएको थियो। पोस्टमार्टमपछि एक जनाको शव मंगलबार र अर्काको शव बुधबार परिवारलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।




