काठमाडौँ :- बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्र्याट यही वर्ष विवाह बन्धनमा बाँधिने भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूको विवाह आगामी जुलाई ५ मा पारिवारिक उपस्थितिबीच निजी समारोहमा हुने तय भएको छ।
दुई वर्षभन्दा बढी समयदेखि सम्बन्धमा रहेका आमिर र गौरीले अब आफ्नो सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन्। भेराइटी इण्डियासँगको कुराकानीमा आमिरले विवाहको खबर पुष्टि गर्दै जुलाई ५ मा विवाह हुने बताएका छन्।
रिपोर्टहरूका अनुसार दुवैले भव्य समारोहभन्दा पारिवारिक वातावरणमा साधारण ढंगले विवाह गर्ने योजना बनाएका छन्। निजी जीवनलाई अनावश्यक चर्चाबाट टाढा राख्ने चाहनाका कारण उनीहरूले ठूलो रिसेप्सन वा तामझामपूर्ण कार्यक्रम नगर्ने बताइएको छ।
आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। त्यसयता उनले विभिन्न अन्तर्वार्तामा गौरीले आफ्नो जीवनमा शान्ति र स्थिरता ल्याएको बताएका छन्।
यो आमिर खानको तेस्रो विवाह हुनेछ। उनले पहिलो विवाह सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए। सन् २००२ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। उनीहरूका दुई सन्तान जुनैद र इरा खान छन्।
त्यसपछि आमिरले सन् २००५ मा निर्देशक किरण रावसँग विवाह गरेका थिए। सन् २०२१ मा उनीहरू अलग भएका थिए। आमिर र किरणका एक छोरा आजाद राव खान छन्।




