काठमाडौँ :- प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए। सो क्रममा राप्रपाकी सांसद खुश्बु ओलीले आर्थिक विधेयकमा भएको हेरफेरबारे निष्पक्ष छानबिन सुनिश्चित गर्न अर्थमन्त्रीले पदबाट अलग हुनुपर्ने बताइन्।
उनले संसद्मा टेबुल भइसकेको आर्थिक विधेयक चलाइएको तथा करका दरमा परिवर्तन गरिएको विषय गम्भीर भएकाले त्यसबारे छानबिन आवश्यक रहेको उल्लेख गरिन्। छानबिन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन अर्थमन्त्री डा. वाग्लेले राजीनामा दिनुपर्ने उनको माग थियो।
‘आर्थिक विधेयकमा भएको हेरफेरबारे निष्पक्ष छानबिन हुन अर्थमन्त्रीज्यू जिम्मेवारीबाट पर रहनुपर्छ,’ सांसद ओलीले बैठकमा भनिन्।




