काठमाडौँ :- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराध अनुसन्धानलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
हेटौंडामा आयोजित बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै उनले अपराधको स्वरूप परिवर्तन भइरहेका बेला अनुसन्धान प्रणालीलाई पनि आधुनिक र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे। यसका लागि प्रदेश सरकारले प्रहरीलाई आवश्यक सहयोग, स्रोत र साधन उपलब्ध गराउन तयार रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले अपराधीलाई कानुनी दायरामा ल्याउनु प्रहरीको मुख्य दायित्व भए पनि कुनै पनि निरपराध व्यक्ति अन्यायमा पर्न नहुनेमा जोड दिए। उनले अनुसन्धानका क्रममा हुने त्रुटिले न्याय प्रणाली र सुरक्षा निकायको विश्वसनीयतामाथि असर पार्ने बताए।
‘तत्काल कुनै अपराधी उम्किए पनि पछि कानुनी प्रक्रियामार्फत नियन्त्रणमा ल्याउन सकिन्छ, तर निरपराध व्यक्तिलाई अपराधी साबित गर्नु न्याय र संगठन दुवैका लागि गम्भीर गल्ती हो,’ उनले भने।
मुख्यमन्त्री बानियाँले प्रहरीलाई प्रदेश मातहत ल्याउने संवैधानिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नहुँदा काममा विभिन्न जटिलता उत्पन्न भइरहेको पनि बताए। विपद् वा प्रदर्शनका क्रममा क्षति पुगेका प्रहरी भवन तथा सवारी साधनको पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट दिन चाहँदा पनि संघीय तहको लामो प्रशासनिक प्रक्रियाका कारण ढिलाइ हुने गरेको उनको गुनासो थियो।
उनले प्रहरीलाई आवश्यक प्रविधि, साधन र स्रोत हस्तान्तरण गर्न प्रदेश सरकार इच्छुक रहेको उल्लेख गर्दै डीएनए परीक्षणजस्ता कार्यका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।




