काठमाडौँ । नेपालमा उच्च शिक्षा अध्ययनका लागि स्वदेशमै बस्ने विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १० दशमलव ९ प्रतिशतले वृद्धि भएको हो।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार अघिल्लो आर्थिक वर्षमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकोमा चालु आर्थिक वर्षमा बढेर सात लाख ४५ हजार ७७० पुगेको छ।
सर्वेक्षणअनुसार उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा धेरै ५० दशमलव ५ प्रतिशत विद्यार्थी रहेका छन्। कृषितर्फ भने सबैभन्दा कम, शून्य दशमलव १५ प्रतिशत विद्यार्थी मात्रै अध्ययनरत छन्। व्यवस्थापन, शिक्षाशास्त्र तथा मानविकी र समाजशास्त्र सङ्कायमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा करिब ८० प्रतिशत रहेको छ।
नेपालमा सञ्चालनमा रहेका केन्द्रीय तथा प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धन प्राप्त क्याम्पसमध्ये अधिकांश विद्यार्थी त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययनरत छन्। कुल विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा ४७ दशमलव ९ प्रतिशत र सम्बन्धन प्राप्त क्याम्पसमा २७ दशमलव ४ प्रतिशत विद्यार्थी अध्ययनरत रहेका छन्। यसरी त्रिभुवन विश्वविद्यालयअन्तर्गत कुल ७५ दशमलव ३ प्रतिशत विद्यार्थी अध्ययन गरिरहेका छन्।
अन्य विश्वविद्यालय तथा कार्यक्रमहरूमा २४ दशमलव १ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको सर्वेक्षणमा उल्लेख छ। सरकारी लगानीतर्फ पनि त्रिभुवन विश्वविद्यालयमा ६७ दशमलव ५ प्रतिशत र अन्य विश्वविद्यालय तथा कार्यक्रमहरूमा ३२ दशमलव ५ प्रतिशत लगानी रहेको छ।
हाल नेपालमा १५ केन्द्रीय र छ प्रादेशिक गरी २१ विश्वविद्यालय सञ्चालनमा छन्। साथै सङ्घअन्तर्गत छ र प्रदेशअन्तर्गत दुई गरी आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन्।




