काठमाडौँ :- काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रमा सञ्चालित मसाज सेन्टर र स्पा व्यवसायहरूको अनुगमन गरेको छ।
काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी र महानगर प्रहरीको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा बाल यौन बेचबिखन तथा श्रम शोषण रोकथामका लागि अनुगमन गरेको हो।
अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सञ्चालन भएको, साथै केही व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको पाइएको समितिकी संयोजक शान्ता प्रजापतिले जानकारी दिइन्।
उनका अनुसार वडाभित्र सञ्चालित होटेल, मसाज सेन्टर, स्पा, खाजाघर, लज तथा गेष्ट हाउसमा विभिन्न बहानामा १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउने तथा यौन व्यवसायमा प्रयोग गर्ने गुनासोका आधारमा अनुगमन गरिएको हो।
संयोजक प्रजापतिले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन शोषणमा लगाउनु कानुनविपरीत र दण्डनीय अपराध भएको बताउँदै त्यस्तो पाइएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम (निषेध र नियमित) ऐनअनुसार कडा कारबाही गरिने स्पष्ट पारिन्।
महानगरपालिकाले ठमेल क्षेत्रमा मसाज तथा स्पा सेन्टरहरूको नियमित अनुगमन गर्ने जनाएको छ। साथै, व्यवसायमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र राख्नुपर्ने र प्रत्येक व्यवसायिक स्थलमा ‘बालश्रम तथा यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ।




