काठमाडौँ :- विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो पटक मानवले सफल आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको आज ७६ वर्ष पूरा भएको छ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा पर्छ।
इतिहासमा पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो हिमालमा मानव पाइला परेको कारण अन्नपूर्णलाई ‘जेठो हिमाल’का रूपमा पनि चिनिन्छ।
सन् १९५० जुन ३ मा फ्रान्सका पर्वतारोही मौरिस हर्जोग र लुई लाचेनाल नेतृत्वको टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो। अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि मात्रै सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण भएको थियो।
पर्वतारोहण इतिहासमा अन्नपूर्ण प्रथमको सफल आरोहणलाई एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ, जसले विश्व पर्वतारोहणको नयाँ युगको सुरुआत गरेको मानिन्छ।




