गाईघाट :- उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीय राधा बुढाथोकीका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी बिरामी परेका हुन् ।
शनिबार बजारबाट ल्याइएको मुसुरोको दालसहितको खाना खाएपछि रातिदेखि नै बान्ता हुने र बेहोस हुने लक्षण देखिएको थियो । त्यसपछि आफन्त र छिमेकीले उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएका थिए ।
जिल्ला अस्पतालका अनुसार योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्किएका छन् । तर, हेमाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि विराटनगर पठाइएको अस्पतालका प्रमुख डा. मुकेश झाले जानकारी दिए ।
हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् ।




