काठमाडौँ :- हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये १६ जना नेपाली र ४२ जना विदेशी पर्यटक रहेका छन्, जसमा ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन्।
आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ १५ गतेसम्मको तथ्याङ्कअनुसार आव २०७८/७९ मा ६ जना, २०७९/८० मा १२ जना, २०८०/८१ मा १४ जना, २०८१/८२ मा १३ जना र चालु आवको जेठ १५ सम्म १३ जना गरी कुल ५८ जनाले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
उच्च हिमाली क्षेत्रमा उकालो चढ्ने क्रममा शरीरमा अक्सिजनको मात्रा कम हुँदा लेक लाग्ने समस्या देखिने गर्दछ, जसले ज्यानै जाने जोखिम समेत निम्त्याउने गर्छ।




