काठमाडौँ :- प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल सुरु भएको छ। छलफलमा सहभागी सांसदहरूले बजेटका सकारात्मक र नकारात्मक पक्षबारे आ–आफ्ना धारणा राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. कृष्णहरि बुढाथोकीले बजेटले उद्यमशीलता प्रवर्द्धनलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले भन्सार महसुल अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत बढी अनुमान गरिएको उल्लेख गर्दै त्यसको आधार स्पष्ट पार्न अर्थमन्त्रीसँग आग्रह गरिन्।
नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सन्तुलित विकासको लक्ष्य लिइए पनि बझाङ, बाजुरा, डोटी र अछामजस्ता विकास आवश्यक जिल्लामा पर्याप्त बजेट नपरेको भन्दै असन्तुष्टि जनाए। उनले सीमा क्षेत्रका लागि बजेट विनियोजनको घोषणा भए पनि प्राथमिकता नदिएको टिप्पणी गरे।
नेकपाका सांसद पशुराम तामाङले बजेटले धनी–गरिबबीचको दूरी झन् बढाउने दाबी गर्दै पहाडी क्षेत्रमा जङ्गली जनावर नियन्त्रण र आर्थिक गतिविधि विस्तारका कार्यक्रम आवश्यक रहेको बताए। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बजेट जनताका वास्तविक समस्या समाधानमुखी नभएको भन्दै धरानको खानेपानी समस्याप्रति सदनको ध्यानाकर्षण गराए।
रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले शिक्षामा कर लगाइएको विषयको विरोध गर्दै मौलिक अधिकारसँग जोडिएको क्षेत्रमा कर लगाउनु उपयुक्त नभएको बताए। उनले कर्मचारीको तलब वृद्धि भए पनि सर्वसाधारणलाई राहत दिने प्रभावकारी कार्यक्रम बजेटमा नदेखिएको गुनासो गरे।
नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रत्येक जिल्लामा नमूना विद्यालय स्थापना हुने अपेक्षा गरिए पनि बजेटमा त्यस्तो कार्यक्रम समावेश नभएको बताइन्। उनले शिक्षामा कर लगाउने निर्णयप्रति असहमति जनाउँदै ग्रामीण क्षेत्र र किसानका लागि प्रभावकारी कार्यक्रमको अभाव रहेको उल्लेख गरिन्।
एमालेका सांसद टुकाभद्र हमालले आगामी आर्थिक वर्षको बजेटले महत्वपूर्ण र दीर्घकालीन विषयहरू समेट्न नसकेको धारणा व्यक्त गरे। बजेटमाथिको छलफल प्रतिनिधिसभामा जारी छ।




