काठमाडौँ :- निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि निर्धारित छ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी केन्द्रीयस्तरको समीक्षा कार्यशालाको उद्घाटन गर्दै भण्डारीले निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन हुने वा नहुनेबारे नै संशय रहेको अवस्थामा विभिन्न चुनौतीबीच निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए।
उनले निर्वाचनको सफलता आयोगको मात्र प्रयासबाट सम्भव नभएको उल्लेख गर्दै नेपाल सरकार, राजनीतिक दल, सरोकारवाला पक्ष तथा आम नागरिकको सहकार्यले निर्वाचन सम्पन्न भएको बताए। “विद्रोहपछि तोकिएको समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु सामान्य विषय होइन। यस निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट नियालिरहेको थियो,” उनले भने।
भण्डारीका अनुसार आयोगले सुरुदेखि नै राजनीतिक संवादलाई प्राथमिकता दिएको थियो। सरकारको सहयोगमा विद्रोही पक्ष, पुराना राजनीतिक समूह तथा नवोदित दलहरूलाई एकै स्थानमा राखेर संवाद र सहकार्यको वातावरण बनाउन सफल भएको उनले बताए।
उनले आन्दोलनपछि बिग्रिएको अनुशासन पुनःस्थापित गर्न निर्वाचन आवश्यक भएकाले आयोगले चुनौतीका बीच अहोरात्र खटेर काम गरेको स्मरण गराए। साथै, यसपटकको निर्वाचन मितव्ययी र तुलनात्मक रूपमा व्यवस्थित भएको उनको भनाइ थियो।
समीक्षा कार्यशालाबाट प्राप्त सुझावका आधारमा आगामी निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउने, मतदानस्थल र मतदान केन्द्रलाई थप पहुँचयोग्य बनाउने, सदर मतको प्रतिशत वृद्धि गर्ने, कानुनी सुधार गर्ने तथा आयोगको भौतिक पूर्वाधार सुदृढ बनाउने योजनामा काम गरिने उनले जानकारी दिए।
कार्यक्रममा तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले निर्वाचन परिणाम पुस्तकको विद्युतीय संस्करण सार्वजनिक गरेकी थिइन्। कार्यक्रममा पूर्व गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्व कानुनमन्त्री अनिलकुमार सिन्हा, निर्वाचन आयुक्तहरू, राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, सुरक्षा निकाय, निर्वाचन पर्यवेक्षक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।




