काठमाडौँ :- म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ पक्राउ परेका हुन्।
म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा यार्सागुम्बा सङ्कलन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १३ थान यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।




