काठमाडौँ :- नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ। हालसम्म करिब साढे चार लाख सदस्यले आफ्नो सदस्यता अद्यावधिक गरिसकेको पार्टीले जनाएको छ।
सदस्यता व्यवस्थापन केन्द्रीय समिति सदस्य तथा प्राविधिक प्रमुख नवराज त्रिपाठीका अनुसार १४औँ महाधिवेशनमा कुल सदस्य संख्या आठ लाखभन्दा बढी रहेकोमा हालसम्म आधाभन्दा बढी सदस्यले अद्यावधिक गरिसकेका छन्।
उनका अनुसार विगतका महाधिवेशनमा करिब ७५ प्रतिशत सदस्यले मात्र नवीकरण गर्ने प्रचलन रहेको थियो। यस पटक नयाँ सदस्य थपिने क्रम पनि जारी रहेकाले कुल संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।
त्रिपाठीले प्रारम्भिक अनुमानअनुसार करिब ६ लाखसम्म सदस्यता अद्यावधिक हुन सक्ने बताए पनि अन्ततः आठ लाखसम्म सदस्यले प्रक्रिया पूरा गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे।




