काठमाडौँ :- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भाजपाको निमन्त्रणामा भारत पुगेका लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरेका थिए। उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।
यसअघि लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–भारत सम्बन्ध, साझा हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
लामिछाने नेतृत्वको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन्। भारत भ्रमणमा रहेको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।




