काठमाडौँ :- एसियन गेम्स छनोटअन्तर्गत सिंगापुरमा जारी प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चीनविरुद्ध ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आक्रामक प्रदर्शन गर्दै निर्धारित ओभरमा उच्च स्कोर खडा गरेको हो।
नेपालका ओपनर कुशल भुर्तेलले केवल ४३ बलमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले। उनले खेलको नवौँ ओभरमा चीनका एक बलरविरुद्ध लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै कीर्तिमानसमेत रचे।
यससँगै भुर्तेलले नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा रहेको एकै ओभरमा ६ छक्का प्रहार गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गरेका छन्।
नेपालका लागि कुशल मल्लले ८५ रन तथा कप्तान रोहित पौडेलले ६९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। तीन प्रमुख ब्याटरको उत्कृष्ट प्रदर्शनमा नेपालले चीनसामु ३१४ रनको चुनौतीपूर्ण लक्ष्य राख्न सफल भयो।
महिला टोलीको खेल वर्षाले प्रभावित
यता, मलेसियामा जारी महिला एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत चीनविरुद्धको खेल वर्षाका कारण प्रभावित भएको छ।
टस हारेर पहिले ब्याटिङमा आएको नेपालले २.२ ओभरमा ७ रन जोड्दा ३ विकेट गुमाइसकेको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको हो।
यसअघि सेमिफाइनलमा घरेलु टोली मलेसियासँग पराजित भएको नेपालले एसियन गेम्समा सिधै छनोट हुने अवसर गुमाएको थियो। अहिले नेपाली महिला टोली चीनसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ।
छनोट प्रतियोगितामा सहभागी टोलीहरू दुई समूहमा विभाजित छन्, जहाँ प्रत्येक समूहका शीर्ष दुई टोलीले एसियाली खेलकुदका लागि स्थान सुरक्षित गर्ने प्रावधान रहेको छ। नेपाल रहेको समूहमा चीन र मलेसिया सहभागी छन्।




