काठमाडौँ :- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय भोगेको बताएका छन्।
काठमाडौँमा केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले वि.सं. २००६ सालदेखि हालसम्मको कम्युनिस्ट आन्दोलनको इतिहासलाई हेर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गरे।
उनले भदौ २३–२४ देखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो क्षति व्यहोरेको भन्दै यो अवस्था इतिहासकै सबैभन्दा ठूलो धक्का भएको टिप्पणी गरे। यद्यपि, उनले आन्दोलन समाप्त नभएको दाबी गर्दै असफलताबाट पाठ सिकेर पुनः संगठन सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
पौडेलले कार्यकर्ताहरूलाई जनतासँग जोडिएर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्न आग्रह गरेका छन्।




