काठमाडौँ :- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। उनले नेपाललाई ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी (भाजपा) बीचको सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
भेटमा भारतका विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत उच्च अधिकारी सहभागी थिए भने नेपालका तर्फबाट लामिछानेसहित रास्वपा नेताहरू र नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।
भाजपा अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा लामिछाने पाँचदिने भारत भ्रमणमा रहेका हुन्।




