काठमाडौँ :- प्रधानमन्त्री बालेन शाहले विभिन्न कालखण्डमा भएका आन्दोलन, र्याली तथा घटनासम्बन्धी सरकारले प्राप्त गरेका सबै प्रतिवेदन एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कामकारबाही अघि बढाइने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनको समग्र समीक्षा गरिने जानकारी दिए।
उनले भने, “आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदन छन्, ती सबैलाई एकमुष्ट रूपमा अध्ययन गर्छौं र आवश्यक कामकारबाही सोही आधारमा अघि बढाउँछौं।”
प्रधानमन्त्री शाहलाई नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनबारे प्रश्न गरेका थिए। जवाफका क्रममा शाहले मानवअधिकार आयोगको प्रतिवेदन मात्र नभई विभिन्न समयका आन्दोलन, प्रदर्शन र र्यालीसँग सम्बन्धित अन्य प्रतिवेदनहरू पनि सरकारको अध्ययनको दायरामा रहने स्पष्ट पारे।
उनले तथ्य र प्रतिवेदनका निष्कर्षका आधारमा आवश्यक निर्णय तथा कारबाही गरिने बताए।




