काठमाडौँ :- चालु आर्थिक वर्षको पहिलो १० महिनामा घरजग्गा कारोबारबाट सरकारले ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनयता सबैभन्दा बढी राजस्व वैशाख महिनामा उठेको छ । वैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसअघि चैतमा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो ।
चैतको तुलनामा वैशाखमा समग्र घरजग्गा कारोबार संख्या घटेको देखिए पनि नयाँ खरिदबिक्री भने बढेको विभागको तथ्यांकले जनाएको छ । चैतमा १ लाख ७६ हजार ७ सय ७१ पटक घरजग्गा कारोबार भएकोमा वैशाखमा यो संख्या घटेर १ लाख ६९ हजार ५ सय ३८ पुगेको छ ।
तर नयाँ घरजग्गा खरिदबिक्री चैतको ५५ हजार ५ सय ३१ पटकबाट बढेर वैशाखमा ५८ हजार ८ सय ८६ पुगेको छ ।
महिनागत रूपमा हेर्दा साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १० करोड, असोजमा २ अर्ब ७५ करोड, कात्तिकमा २ अर्ब ७४ करोड र मंसिरमा ४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
यस्तै, पुसमा ५ अर्ब १७ करोड, माघमा ५ अर्ब र फागुनमा ४ अर्ब १४ करोड रुपैयाँ राजस्व उठेको थियो ।




