काठमाडौँ :- डडेलधुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरी बलका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत जवान ओमप्रकाश पुनमगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापामगर रहेका छन्।
शुक्रबारदेखि सम्पर्कविहीन रहेका उनीहरू नातामा मामाभान्जा पर्ने बताइएको छ।
प्रहरीका अनुसार महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको छ। त्यसका आधारमा उनीहरू नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी कार्य तीव्र पारिएको छ।
घटनाबारे थप अनुसन्धान र खोजी जारी रहेको प्रहरीले जनाएको छ।




