काठमाडौँ :- मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले व्यक्तिगत सामाजिक सञ्जाल खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ व्यवस्थाअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता खोल्न नदिने र त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि कम्पनीहरूकै हुनेछ।
नियम उल्लंघन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ।
मलेसिया सरकारले बालबालिकालाई हानिकारक अनलाइन सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यो नीति लागू गरेको जनाएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यमबाट बालबालिकामाथि हुने जोखिम बढ्दै गएको निष्कर्षपछि कडा नियमन आवश्यक ठानिएको सरकारको भनाइ छ।
यद्यपि, बालबालिकाले नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कानुनी कारबाही नहुने स्पष्ट पारिएको छ। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ।
मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्न नभई उनीहरूका लागि सुरक्षित र उमेरअनुकूल डिजिटल वातावरण सुनिश्चित गर्न ल्याइएको जनाएको छ।
मलेसिया यस्तो नीति लागू गर्ने विश्वका केही देशहरूमध्ये एक बनेको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै कदम चालिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरू पनि समान नीति निर्माणको प्रक्रियामा रहेका छन्।




