काठमाडौँ :- चितवन राष्ट्रिय निकुञ्जमा बाह्य पर्यटकको आगमन घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्म एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या घटेर ८९ हजार ६३० मा झरेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष सार्क मुलुकका १३ हजार ९९२ र तेस्रो मुलुकका ७५ हजार ६३८ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
तर आन्तरिक पर्यटकको संख्या भने बढेको छ । गत वर्ष वैशाखसम्म एक लाख ३ हजार ६७२ नेपाली पर्यटक आएकोमा यस वर्ष सो संख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको छ ।
सूचना अधिकारी थापामगरले पछिल्ला राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिसँगै नेपालीहरूमा घुमफिरको रुचि बढ्नु र सातामा दुई दिन बिदा जस्ता कारणले आन्तरिक पर्यटक वृद्धि भएको बताएका छन् ।
यस अवधिमा निकुञ्जबाट कुल २३ करोड ५ लाख ५० हजार ६०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । साथै काठदाउरा बिक्री, गैरकाठ वन पैदावर, दण्ड–जरिवाना तथा अन्य शीर्षकबाट समेत थप राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।




