काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी जिल्ला अधिवेशनमार्फत हालसम्म १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ। बागमती प्रदेशका ९ र कोशी प्रदेशका ९ जिल्लामा पहिलो चरणको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौँमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जिव पाठक सभापतिमा निर्वाचित भएका छन्।
यस्तै बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा अधिवेशन जारी रहेको छ भने सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको आयोगले जनाएको छ।
कोशी प्रदेशतर्फ सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन्।
कोशी प्रदेशका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि अधिवेशन जारी रहेको आयोगले जनाएको छ।
यसैबीच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवेशनमा प्रतिनिधि चयनसम्बन्धी नियम स्पष्ट गर्दै अधिवेशन सम्पन्न नभएका पालिकाबाट प्रतिनिधित्व गर्न नपाइने जनाएको छ। साथै, अधिवेशन सम्पन्न भइसकेका पालिकाका हकमा वैशाख १५ गतेअघि नियुक्त भएका विभागीय सदस्य मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ।




