काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार विज्ञप्ति जारी गर्दै अधिवेशनका सबै प्रक्रिया तत्कालका लागि रोकिएको जानकारी दिएका हुन्। आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र दफा ४९ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै उक्त निर्णय गरेको जनाएको छ।
निर्वाचन आयोगका अनुसार मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत ढंगले सम्पन्न गर्न आवश्यक देखिएकाले हाललाई सम्पूर्ण गतिविधि स्थगित गरिएको हो।
निर्णयसँगै प्रतिनिधि छनोट प्रक्रिया, निर्वाचन कार्यक्रम तथा कार्यतालिका, उम्मेदवारी दर्ता, चुनावी प्रचारप्रसार, बैठक, भेला र अधिवेशनसँग सम्बन्धित अन्य सबै काम रोकिएका छन्।
आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिकाबारे पछि आधिकारिक जानकारी गराइने जनाएको छ। साथै, अर्को निर्देशन जारी नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।




