काठमाडौँ :- फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पमा परी १७ जना अझै बेपत्ता छन् भने ४८७ जना घाइते भएका छन्।
एनडीआरआरएमसीका अनुसार भूकम्पबाट ३३ हजारभन्दा बढी परिवारका करिब एक लाख ५० हजार मानिस प्रभावित भएका छन्। साथै अस्पताल, विद्यालय र पुलसहित २३८ वटा पूर्वाधारमा क्षति पुगेको छ।
भूकम्पको कम्पन मिन्डानाओको अधिकांश क्षेत्र र मध्य फिलिपिन्सका केही भागमा समेत महसुस गरिएको थियो। मुख्य भूकम्पपछि हालसम्म १,७०० भन्दा बढी पराकम्प रेकर्ड गरिएको जनाइएको छ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको तथा क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्।




