काठमाडौँ :- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यसअघि जेठ १ गतेका लागि तय गरिएको बैठक कांग्रेसभित्रको असन्तुष्टि र जसपाको निर्णय नआएकाले स्थगित गरिएको थियो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई हटाउँदै नेकपा एमालेलाई सरकारमा समेटेका हुन् ।
बिहीबार राति एमालेका प्रदेशसभा सदस्य मोहम्मद समीरलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो भने जसपा नेपालका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०१ सदस्य कायम रहेको अवस्थामा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२ र नेपाली कम्युनिष्ट पार्टीका १४ सांसद सरकारमा रहेका छन् ।
यसअघि पनि विश्वासको मत लिने तयारी भए पनि सम्भावित फ्लोर क्रसको आशंकापछि कार्यसूचीबाट अन्तिम समयमा उक्त प्रस्ताव हटाइएको थियो ।




