काठमाडौं :- उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। ओली पाँच दिने चीन भ्रमणमा प्रस्थान गरेपछि सिंहले कार्यवाहकको जिम्मेवारी सम्हालेका हुन्। सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा रहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसअनुसार सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन्।
प्रतिनिधिमण्डलमा ओलीकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका छन्। प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।




