मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको ईभी आज दिउँसो करिब २ बजे दुर्घटनामा परेको हो। गाडी सडकबाट करिब एक हजार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ। घाइते हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। उनीहरूमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौँ तथा एक महिलालाई हेटौँडा पठाइएको छ।
गाडीमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता काफ्लेले बताए।












