झापा :- झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवक मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईं स्वीमिङ पुलमा मृत फेला परेका हुन् ।
मृतक प्रसाईं आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए ।
पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुंगानाले प्रहरीलाई राति ८ बजे खबर गरेको हो । घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




