काभ्रे :- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सभ्यताको स्रोत बागमती नदीलाई पुरानै निर्मल र कञ्चन स्वरूपमा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज काठमाडौँमा आयोजित बागमती करिडोर कुपन्डोलमा २५ औं बागमती रिभर फेष्टिभल समापन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती सरकारले सभ्यता जगेर्ना नदी सफाइ र सौन्दर्यीकरणलाई प्रमुख दायित्वको रुपमा लिएको बताए ।
उनले नदी प्रणाली मानव सभ्यताको आधार भएको र बागमती नदीको किनारमा नै मानव सभ्यताको विकास भएको स्मरण गराए । प्रदेशको नाम नदीको नामबाट राख्नुले यसको संरक्षण र संवद्र्धनमा सरकारको थप जिम्मेवारी बढेको उनको भनाइ थियो । उनले संघीयता र गणतन्त्रको मर्मअनुसार बागमती नदीको सभ्यतालाई पुनर्जीवन दिनु आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, ‘मान्छेको सभ्यताको विकास नदी प्रणालीबाटै भएको हो । यही सभ्यता र साझा पहिचानलाई सम्मान गर्दै कुनै जात, धर्म वा समुदायसँग नजोडी सबैको साझा सम्पत्तिको रूपमा प्रदेशको नाम बागमती राखिएको हो ।’ ‘हिजोको जस्तै निर्मल र कञ्चन बागमतीलाई फेरि त्यही रुपमा फर्काउन सरकारले कुनै कसर बाँकी राख्ने छैन । यो हाम्रो दायित्व हो र हामी यसलाई पूरा गरेरै छाड्छौँ ।’




