काठमाडौँ :- सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आगामी केही साताभित्र नेपालमा एपभित्रै एआई (कृत्रिम बुद्धिमत्ता) साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ।
टिकटकका अनुसार प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा उक्त हबमार्फत शैक्षिक सामग्री उपलब्ध हुनेछ। यसले एआईद्वारा सिर्जना गरिएका सामग्री कसरी चिन्ने, ती कसरी तयार हुन्छन् भन्ने बुझ्ने तथा एआईमा आधारित सेवाहरू सुरक्षित र आत्मविश्वासका साथ प्रयोग गर्नेबारे व्यावहारिक जानकारी प्रदान गर्नेछ।
टिकटकका ग्लोबल पब्लिक पोलिसी टोलीका एआई प्रमुख टम वर्गिसले प्रयोगकर्तालाई एआई प्रयोग गर्दा आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गराउने उद्देश्य रहेको बताए।
उनले भने, “हामीले टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने चाहन्छौं। एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न, ती कसरी तयार हुन्छन् भन्ने बुझ्न तथा एआई टुललाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रयोग गर्न सहयोग गर्ने प्रविधि, साझेदारी र शैक्षिक सामग्रीमा हामी निरन्तर लगानी गरिरहेका छौं।”












