काठमाडौँ :- आसिफ शेखको ९४ रनको उत्कृष्ट पारी र गुल्सन झाको ५ विकेटसहितको बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा सम्पन्न सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो। नेपालका गुल्सन झाले बलिङमा आक्रामक प्रदर्शन गर्दै महत्वपूर्ण ५ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो। टोलीका लागि आसिफ शेख र आरिफ शेखको योगदान उल्लेखनीय रह्यो ।
यस सिरिजमा नेपालले चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको छ। २४ खेलपछि १८ अंकसहित नेपाल लिग टु को आठ टोलीमध्ये सातौं स्थानमा यथावत छ। यसअघि नेपालले युएईलाई दुई खेलमा पराजित गरेको थियो भने ओमानसँगको अघिल्लो भेटमा हार बेहोरेको थियो, जसको आज बदला लिएको हो।
अब नेपालले अमेरिका र स्कटल्यान्ड सहभागी अर्को सिरिज यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ ।




