काठमाडौँ :- घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर यूएईले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो। नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन जोडे।
अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्। कुशल भुर्तेलले २४ रन बनाउँदा करण केसीले २२ रन जोडे। आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन बनाए भने भीम सार्कीले १० रन जोडे। आसिफ शेख ७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल २ रनमै पभेलियन फर्किए।
यूएईका लागि अजय कुमारले ३ विकेट लिए भने खुजैमा तनविर र जुनैद सिद्दिकीले समान २–२ विकेट लिए। हैदर अली र मुहम्मद सहदादले समान १ विकेट लिए।
अब यूएईले केही बेरमै २०१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।




