काठमाडौँ :- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार्न सरकारले सक्रियता बढाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी कामकाजमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन इन्टरनेट सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुखसँगको छलफलका क्रममा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्न जोड दिएका हुन्। सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, नियमित निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन उनले विशेष निर्देशन दिएका छन्।
सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै उनले जिम्मेवारी र जवाफदेहिता बढाउन आवश्यक रहेको बताए। साथै, प्राविधिक तथा मानवीय कमजोरीका कारण इन्टरनेट अवरुद्ध हुने समस्या अन्त्य गर्न नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली परिचालन गरी तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।




