काठमाडौं :- वैशाख ११ गते प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म परालको आगो को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचारलाई तीव्र बनाउँदै गीत रिलिज गरेको हो।
गीतमा प्रकाश सपुत र शान्तिश्री परियार को स्वर रहेको छ। गीतका शब्द तथा संगीत प्रकाश सपुतकै हुन् भने संगीत संयोजन सुदीप सागरले गरेका छन्।
गीतको भिडियोमा मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुत देखिएका छन्। पहिलो पटक स्क्रिन सेयर गरेका यी दुईको जोडीलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। ग्रामीण परिवेशमा आधारित प्रेम कथा प्रस्तुत गरिएको यस गीतले गाउँघरको जीवनशैली झल्काएको छ।
यसअघि फिल्मको टिजर तथा पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक भइसकेको थियो, जसले राम्रो प्रतिक्रिया पाएको थियो। दोस्रो गीतले पनि लोकलयमार्फत दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। गुरुप्रसाद मैनाली को कृतिबाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत लगायतका कलाकारको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका छन्।




