काठमाडौँ :- ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ। सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन (WMO) स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मार्च २३ मा यो दिवस मनाइन्छ।
यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व तथा जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीका अनुसार दिवसका अवसरमा यिनै विषयमा केन्द्रित कार्यक्रमहरू आयोजना गरिएको छ।
यो दिवसले मौसम तथा जलवायु सेवाको महत्व उजागर गर्दै मानव जीवन, कृषि, जलस्रोत व्यवस्थापन र विपद् न्यूनीकरणमा यसको भूमिकाबारे विश्वव्यापी सचेतना फैलाउने उद्देश्य राखेको छ।




