काभ्रे :- बनेपा नगरपालिका–८ मा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव “रजत जयन्ती” तथा अभिभावक दिवसको पहिलो दिनको कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका निर्देशक तथा कार्यक्रमका सभापति शिशिर भण्डारीका अनुसार कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।
यस रजत जयन्ती कार्यक्रममा नियमित बार्षिकोत्सबमा जस्तै एस. ई. ई. विदाई तथा अभिभावक सम्मान, शैक्षिक तथा अतिरिक्त कृयाकलापका पुरस्कार वितरण कार्यक्रम, नगर,जिल्ला, प्रदेशमा विभिन्न विधागत उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षक/ शिक्षिका सम्मान कार्यक्रम, रजत जयन्ती सम्म आइपुग्दा विभिन्न साथ, सपोर्ट र योगदान प्रदान गर्नुहुने शिक्षक/ कर्मचारी, पूर्व संचालक तथा विद्यालयका विभिन्न समितिमा बसेर योगदान गर्नुहुने व्यक्तित्वहरू, शिक्षा र विद्यालयप्रति योगदान गर्नुहुने घरबेटीलाई सम्मान गर्ने र विद्यार्थीहरूका तहगत र विधागत विभिन्न प्रतिभा र साँस्कृतिक कार्यक्रमहरू हुनेछन
पहिलो दिन कक्षा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। सो अवसरमा सोही तहका विद्यार्थीहरूलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्राप्त उपलब्धिका आधारमा पुरस्कार वितरण पनि गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालले नेपालको शैक्षिक विकासमा निजी तथा सार्वजनिक विद्यालयबीच सहकार्य आवश्यक रहेको बताउँदै लिन स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी संस्थाको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
विद्यालयका शिक्षक–अभिभावक समितिका सदस्य शिवहरि थापाद्वारा स्थापित “जेएसडी अक्षयकोष” बाट नर्सरीदेखि कक्षा ३ सम्मका तीन जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो। अक्षयकोषकी संरक्षक कल्पना थापाले उक्त सामग्री वितरण गर्नुभएको थियो।
कार्यक्रममा संस्थापक प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास, सिर्जनशील सोच, नेतृत्व क्षमता र आत्मनिर्भर भविष्य निर्माणमा केन्द्रित शिक्षा प्रदान गरिरहेको बताउनुभयो। हाल विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत रहेको पनि उहाँले जानकारी दिनुभयो।








