काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भयो।
जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ दशमलव ५ ओभरमै सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो। नेपालको ब्याटिङ कमजोर देखिँदा रोमा थापाले अविजित १४ रन बनाइन्। विन्दु रावल र रुविना क्षेत्रीले समान १४ र १० रन जोडे पनि अन्य ब्याटर दोहोरो अङ्कमा रन बनाउन असफल भए।
स्कटल्यान्डका लागि बलिङतर्फ अब्ताहा मकसुदले तीन विकेट लिइन् भने क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट हात पारिन्। साथै राहेल स्लेटर र ओलिभिया बेलले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो। स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रन बनाइन्। एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ र राहेल स्लेटरले ११ रनको योगदान दिइन्।
नेपालका लागि बलिङतर्फ मनिषा उपध्यायले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिइन् भने रुविना क्षेत्रीले तीन विकेट हात पारिन्। रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक–एक विकेट लिए।
यस हारसँगै चार खेल खेलेको नेपालले एक खेल जित्दै दुई अङ्क मात्र जोड्न सक्यो र समूह ‘बी’ को चौथो स्थानमा रह्यो। समान खेलबाट चार अङ्क जोडेको स्कटल्यान्ड भने सुपर सिक्स चरणमा प्रवेश गर्न सफल भयो।



