काठमाडौँ :- आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। उपकप्तान पूजा महतोले नटआउट ५२ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई जित दिलाइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारिन्।
समूह चरणको तेस्रो खेलमा जित निकालेसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना जीवित राखेको छ। दुई खेलमा हार र एक जितसहित नेपालले अंक तालिकामा २ अंक जोडेको छ। बाँकी एक खेल जितेर अन्य टोलीको नतिजा अनुकूल भएमा मात्र नेपाल अर्को चरणमा प्रवेश गर्नेछ।
लगातार चौथो खेलमा पराजित भएसँगै जिम्बाब्वे समूह चरणबाट अंकविहीन रूपमा बाहिरिएको छ। नेपाल यसअघि थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
समूह बीमा रहेको नेपालले समूह चरणको अन्तिम खेल पर्सि माघ १२ गते स्कटल्याण्डसँग खेल्नेछ। सुपर सिक्समा शीर्ष चार स्थानमा रहने टोलीहरूले महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।



