काठमाडौँ :- फिल्म ‘परान’ले मंगलबार प्रदर्शनको ७५ औँ दिन पूरा गरेको छ। यस अवसरमा निर्माण टिमले केही दिनका लागि टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरेको छ।
‘परान’को ७५ औँ दिनको सफल सेलिब्रेशनका लागि यो अफर ल्याइएको निर्माता रञ्जित आचार्यले जानकारी दिए। उनका अनुसार यो सुविधा खल्ती एपमार्फत टिकट काट्ने दर्शकहरूका लागि मात्र उपलब्ध हुनेछ। खल्ती एप प्रयोग गरी टिकट बुक गर्दा ७५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ।
मंगलबार मात्रै काठमाडौँमा ‘परान’का पाँचवटा शो प्रदर्शन भएका थिए भने खल्ती एपमा भोलिका लागि पनि ६ वटा शो उपलब्ध छन्।
बक्स अफिसका अनुसार फिल्मले पछिल्लो शनिबार (७२ औँ दिन) सम्म आइपुग्दा १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँको कारोबार गर्न सफल भएको छ।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतको अभिनय रहेको छ।



