झापा:- भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको मेची रङ्गशालास्थित नवनिर्मित क्रिकेट मैदानमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता’ आगामी माघ २१ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन्।
आयोजक समितिका संयोजक मनोज सुब्बाका अनुसार प्रतियोगिताका विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी (गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब (लखनउ), क्रिकेट कोचिङ एकेडेमी (न्यु दिल्ली) र स्नो लायन टिम (सिक्किम) सहभागी हुनेछन्।
नेपालतर्फबाट भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाड ले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा भारतबाट रणजी ट्रफी खेलिसकेका खेलाडीहरू र नेपालबाट एनपीएल खेलिसकेका खेलाडीहरू सहभागी हुने आयोजकको भनाइ छ।
भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिकेट क्लबले तीन वर्षको अवधिमा आधुनिक क्रिकेट मैदान निर्माण गरेको हो। सोही मैदानमा प्रतियोगिता आयोजना गरिनेछ, जसको दर्शक क्षमता करिब १० हजार रहेको छ।
झापा क्रिकेट सङ्घका अध्यक्ष प्रवीण थापाले क्रिकेटका माध्यमबाट नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको उल्लेख गर्दै भद्रपुरमा आयोजना हुन लागेको प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।



