काठमाडौँ :- एसीसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। समूह चरणअन्तर्गत आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो।
यस हारसँगै नेपाली यु–१९ टोलीले प्रतियोगितामा कुनै पनि खेल जित्न नसकी एशिया कपको यात्रा समाप्त गरेको छ। दुबईमा सम्पन्न एसीसी प्रिमियर कपमा उपविजेता बन्दै एशिया कपका लागि छनोट भएको नेपाली टोलीले सो प्रदर्शनलाई एशिया कपमा निरन्तरता दिन सकेन।
समूह ‘बी’ मा रहेको नेपालले ब्याटिङ र बलिङ दुवै पक्षमा अपेक्षित प्रदर्शन गर्न सकेन। यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेटले र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो।
आज टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो। नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए भने चन्दन रामले २७ र अभिषेक तिवारीले २० रनको योगदान दिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
१२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित हात पार्यो।



