काठमाडौं :- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ। आजको निर्णायक खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। २८ लिग चरणका खेल र ३ प्लेअफ खेल पछि उपाधि विजेता तय गर्ने फाइनल खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।
सुदूरपश्चिम रोयल्सले फाइनलसम्मको यात्रा निकै प्रभावशाली बनाएको छ। लिग चरणमा लगातार पाँच खेल जितेर प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम केवल एक खेलमा पराजित भयो, जुन लिग चरणको अन्तिम खेलमा विराटनगर किङ्ससँग भएको थियो। तर, पहिलो क्वालिफायरमा त्यही विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा सीधै स्थान बनाएको हो। गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिम यसपटक विजेताको उपाधि जित्ने दृढ उद्देश्यमा छ।
अर्कोतर्फ, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो। तर, यस संस्करणमा निरन्तर सुधार गर्दै र फाइनलमा स्थान बनाएर, लुम्बिनीले ट्रफी जित्ने लक्ष्यसँग फाइनल खेल्दैछ।




