काठमाडौँ :- आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली महिला क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरू गरेको छ। मूलपानी क्रिकेट मैदानमा आजदेखि प्रशिक्षण प्रारम्भ भएको हो।
यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २६ सदस्यीय प्रारम्भिक स्क्वाड सार्वजनिक गरेको थियो। टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट,
रचना चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन्।
बन्द प्रशिक्षण सम्पन्न भएपछि क्यानले अन्तिम टोली घोषणा गर्ने जनाएको छ। आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै ग्लोबल क्वालिफायर आयोजना हुँदैछ, जहाँ १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार टोलीले सन् २०२६ जुनमा इंग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
क्वालिफायरमा समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाब्वे छन्। समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन्।



