काठमाडौँ :- आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा सुरु हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र अमेरिकाबीचको खेल आइतबार बिहान ११ः१५ बजे (स्थानीय समय अनुसार) सुरु हुनेछ। केही दिनअघि मात्र यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले यस शृङ्खलाबाट लिग–२ का महत्त्वपूर्ण खेलहरू सुरु गर्न लागेको हो।
कप्तान रोहित पौडेलको नेतृत्वमा नेपालले यूएई र अमेरिकाविरुद्धका खेलहरू खेल्नेछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यस शृङ्खलाका लागि टोलीमा केही परिवर्तन गरिएको छ— सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखी भीम सार्की, शाहब आलम र अनिल साहलाई समावेश गरिएको छ।
शृङ्खलाअन्तर्गत नेपालले दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग, तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेलमा कात्तिक १९ गते बुधबार यूएईसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
हालसम्म लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ। समान खेल खेलेको यूएईसँग ६ अंक छ भने २० खेल खेलिसकेको अमेरिका २८ अंकसहित दोस्रो स्थानमा रहेको छ।


