काठमाडौँ :- नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको उपाधिका लागि आज सामोआसँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ः१५ बजे सुरू हुनेछ। जारी प्रतियोगिताअन्तर्गत यो नेपालको अन्तिम खेल हो।
नेपाल हाल अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ र सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकपका लागि पहिल्यै छनोट भइसकेको छ। आजको खेलमा नेपालले सामोआलाई पराजित गर्न सके उपाधि जित्नेछ। सामोआ भने विश्वकप छनोटबाट बाहिरिसकेको छ र सुपर सिक्स चरणमा अहिलेसम्म जितविहीन छ।
समूह चरणमा नेपालले जापान र कतारलाई हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो। सुपर सिक्समा समेत लगातार जित निकाल्दै नेपाल ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन्।
त्यस्तै, युएई ६ अङ्कका साथ दोस्रो र ओमान पनि ६ अङ्कसहित तेस्रो स्थानमा छन्। यी दुवै टोली सन् २०२६ मा हुने टी–२० विश्वकपका लागि पनि छनोट भइसकेका छन्।


