काठमाडौँ :- ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरमार्फत विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाल आज छनोटको उपाधिका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलङ्कामा आगामी वर्ष हुने आइसिसी टी–२० विश्वकपमा दुई खेल अगावै पुगेको नेपाल अब उपाधि जित्ने नजिक पुगेको छ। शुक्रबार सामाओलाई पराजित गर्न सके नेपाल अपराजित रहँदै छनोटको ट्रफी उचाल्नेछ ।
सुपर सिक्स चरणबाट नेपालसँगै ओमान र यूएईले पनि विश्वकपमा स्थान बनाइसकेका छन्, जबकि जापान, कतार र सामाओ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । आजको खेल नेपालका लागि फाइनल बराबर मानिएको छ । नेपालले सामाओलाई जिते १० अङ्क जोड्दै उपाधि हात पार्नेछ । तर यदि नेपाल पराजित भयो र ओमानले जापानलाई हरायो भने उपाधि रनरेटका आधारमा तय हुनेछ। विपरीतमा, जापानले ओमानलाई हराए भने नेपालले खेल अघि नै उपाधि सुनिश्चित गर्नेछ ।
नेपाल र सामाओबीचको यो निर्णायक भिडन्त शुक्रबार दिउँसो ४:१५ बजे ओमानको मैदानमा सुरु हुनेछ, जबकि जापान र ओमानको खेल आजै बिहान ११:४५ बजेबाट सुरु भएको छ ।


