काठमाडौँ :- भूटानमा जारी साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल घरेलु टोली भूटानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ।
प्रतियोगितामा भारतले एक खेल अगावै अपराजित रहँदै उपाधि सुनिश्चित गरिसकेको छ। उसले पाँच खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा कब्जा जमाएको हो। दोस्रो स्थानमा रहेको बङ्गलादेशले पाँच खेलबाट १० अंक हासिल गरेको छ।
नेपाल र भूटान भने प्रतियोगिताबाट बाहिरिसकेका छन्। नेपालले पाँच खेलबाट तीन अंक मात्र जोडेको छ भने भूटानले समान खेलमा एक अंक ल्याएको छ। त्यसैले आजको खेल औपचारिकताका लागि मात्र हुनेछ।
आज भारत र बङ्गलादेशबीच पनि प्रतिस्पर्धा हुने कार्यक्रम छ। भारत यसअघि सन् २०१८ र २०१९ मा पनि साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितिसकेको थियो।




