काठमाडौं :- नेपाली आतिथ्य र रैथाने स्वादलाई ब्रान्डको रूपमा स्थापित गर्दै आएको होटल पौवा आफ्नो स्थापना भएको एक दशक पूरा गर्दै नयाँ लक्ष्यसहित अगाडि बढेको छ। ‘बालापन’को रूपमा पहिलो दशकलाई व्याख्या गरेको पौवाले अबको दस वर्षभित्र देशभर एक सय शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
दशक पूरा भएको अवसरमा होटलले चैत महिनाको अन्तिम सातादेखि आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। यो उत्सव केवल परिकारको स्वादमा सीमित नभई नेपाली संस्कृतिको झल्को दिने माध्यमका रूपमा प्रस्तुत गरिने बताइएको छ।
हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ।
होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार, “दश वर्ष छोटो भए पनि संस्थागत विकासका लागि अत्यन्तै संवेदनशील र महत्वपूर्ण समय हो। यस अवधिले हाम्रो पहिचान र आधार निर्माणमा ठूलो भूमिका खेलेको छ।” उनले धार्मिक स्थल केन्द्रित नयाँ शाखा विस्तारले स्वदेशी मात्र होइन, भारतीय पर्यटकसमेत आकर्षित गरिरहेको बताए।
पौवाको विशेषता भनेकै यसको नेपालीपन हो। यहाँका प्रत्येक शाखामा ग्रामीण रैथाने परिकारहरू उपलब्ध छन्, जसले नेपाली स्वादलाई जोगाउन र प्रवर्द्धन गर्न मद्दत पुर्याइरहेको छ। ब्रान्ड प्रमुख विष्णु भण्डारी भन्छन्, “पौवा केवल होटल होइन, यो नेपाली संस्कृतिको जिवन्त प्रतिबिम्ब हो। हाम्रो भित्री सजावटदेखि कर्मचारीको पोशाकसम्म नेपालीपन झल्किन्छ।” कर्मचारीलाई दौरा–सुरुवाल अनिवार्य गरिएको छ भने भित्ताहरूमा नेपाली कला र संस्कृतिका झलकहरू सजाइएका छन्।
उपाध्यक्ष ध्रुव न्यौपानेका अनुसार, “पहिलो दशकले हामीलाई अनुभव र विश्वास दुवै दिएको छ। यही आधारमा अब हामी अझ सशक्त र व्यवस्थित रूपमा अगाडि बढ्नेछौं।” उनले ‘मिसन १००’ केवल शाखा विस्तार मात्र नभई व्यवस्थापन क्षमता, गुणस्तर र ब्रान्ड विश्वसनीयताको परीक्षा पनि भएको उल्लेख गरे।
प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले ‘नेपाली आतिथ्यको सुरुवात पौवाबाट हुन्छ’ भन्ने नारालाई व्यवहारमा उतार्दै सेवा, संरचना र गुणस्तरलाई थप परिष्कृत गरिँदै गएको बताए। उनका अनुसार, “मानव संसाधन विकास र अन्तर्राष्ट्रिय स्तरको नेपाली हस्पिटालिटी ब्रान्ड निर्माण हाम्रो दीर्घकालीन लक्ष्य हो।”
हाल होटल पौवाका विभिन्न शाखामा २ सय ५० भन्दा बढी लगानीकर्ता आबद्ध छन् भने एक हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। एक दशकको अनुभवलाई आधार बनाउँदै पौवा अब नेपाली आतिथ्य क्षेत्रको सशक्त राष्ट्रिय ब्रान्डका रूपमा उभिने दिशामा अघि बढिरहेको देखिन्छ





